२०८३ बैशाख ९ बुधबार
Jhapa Today
Adv top

टावर टेम्पल स्कुलको वार्षिकोत्सवमा खेलकुद र सांस्कृतिक कार्यक्रम


बिर्तामोड, माघ १९ । झापाको बिर्तामोडस्थित अक्कलबस्तीमा रहेको टावर टेम्पल स्कुलको २९ औँ वार्षिकोत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

आज सोमबार विद्यालय परिसरमा वार्षिकोत्सवअन्तर्गत खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा अधिकृत लासाङ तामाङले पानसमा दिप प्रज्वलन गरेर गरकी थिइन् ।

विद्यालयका निर्देशक राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित विद्यालयको समग्र अवस्थाबारे प्रिन्सिपल तेजप्रसाद भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय यमनाथ घिमिरे र निता घिमिरेले गरेका थिए ।

२०५३ सालमा स्थापना भएको विद्यालयमा राष्ट्र सेवा दल (एनसिसी) २०८१ सालदेखि सुरू भएको छ । २०७९ सालबाट इम्प्यानल स्कुल पनि सञ्चालन भइरहेको विद्यालयका निर्देशक धिमालले जानकारी दिए । जसमा बहालवाला र अवकाश प्राप्त नेपाली सैनिकका सन्ततिहरू अध्ययन गरिरहेका छन् ।

कक्षा नर्सरीदेखि १२ सम्म ६२१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरी ५१ जना कार्यरत रहेका छन् । कार्यक्रममा विद्यार्थीले विभिन्न पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अरदिमन गण चारआलीका सेनानी प्रवेश खड्का , साहयक सेनानी भीमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, वीरता जेसिजका अध्यक्ष एलसी श्रेष्ठ, झापा गोल्डकप अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, वीर अमरसिंह माविका अध्यक्ष जीवनकुमार खड्का, लोत्से इंग्लिस स्कुलका निर्देशक धनराज मगरलगायतको आतिथ्यता रहेको थियो ।

आजबाट सुरू भएको अन्तरसदन खेलकुद प्रतियोगितामा फुटबल, बास्केटबल कक्षा ८,९,१०, भलिबल छात्र र छात्रा ६, ७, ८, ९, १० का विद्यार्थी, टेबलटेनिस लगायतका खेलहरू सम्पन्न भएका छन् ।

त्यस्तै, कक्षा नर्सरीदेखि अन्य कक्षाका विद्यार्थीले चक्लेट रेस, बेलुन फुटाई, सिनियर फुटसल, सट रेस, सांस्कृतिक लगायतका प्रतियोगिता गर्ने स्कुलले जनाएको छ । खेलकुद प्रतियोगिता माघ २३ गते समापन हुनेछ ।

उद्घाटन कार्यक्रममा मनोरञ्जनका लागि अभिभावकबीच महिलाका लागि म्युजिकल चियर, पुरूषतर्फ हन्डी फुटाई प्रतियोगिता समेत गरिएको विद्यालयका खेल संयोजक विवेक धिमालले जानकारी दिए ।

Adv footer