२०८३ जेठ १० आइतबार
Jhapa Today
Adv top

अलकत्राको मूल्य बढ्दा एसियन हाइवे कालोपत्रेमा ढिलाइ


बिर्तामोड, जेठ १० । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा बिटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ ।

विटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर १०० देखि ११० रुपैयाँसम्ममा पाइरहेको भारतीय बिटुमिन अहिले १५० रुपैयाँभन्दा बढी पर्न थालेको छ ।

नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ । निर्माण सुुरु भएको २८ महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए ।

उनका अनुसार बिटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् । हाल ओभरपास, अन्डरपास, बेस, सबबेस, नालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उनले जानकारी दिए ।

एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किलोमिटर सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकरभिट्टाबाट पूर्वपश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो ।

Adv footer