२०८३ जेठ १० आइतबार
Jhapa Today
Adv top

व्यवसायी भट्टराईद्वारा जन्मदिनमा राहत कोषलाई २१ हजार सहयोग


बिर्तामोड, जेठ १० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा संघका विशिष्ट सदस्य निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

व्यवसायीलाई समस्या पर्दा सहकार्य, सहअस्तित्व र आपसी सहयोगको भावना बलियो बनाउने उद्देश्यले स्थापना गरिएको सो कोषमा व्यवसायी भट्टराईले आफ्नो जन्मदिनको अवसरमा नगद प्रदान गरेका हुन् ।

भट्टराईले उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने लाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै व्यवसायीहरूको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुसी लागेको भट्टराईले बताए ।

नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य समेत रहेका व्यवसायी भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनकै अवसरमा कोषका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

निरन्तर सहयोगमार्फत उनले अन्य उद्योगी व्यवसायीलाई समेत सामाजिक कार्यमा प्रेरित गरिरहेको संघका पदाधिकारीहरूले बताएका छन् ।

संघका अध्यक्ष न्यौपाने नेतृत्वको कार्यसमितिले व्यवसायीहरूलाई आपत–विपदका समयमा राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यसहित एक करोड रुपैयाँको लक्ष्य राखेर व्यवसायी सदस्य राहत कोष स्थापना गरेको हो ।

कोषमार्फत व्यवसायी सदस्यहरूलाई आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति तथा अन्य कठिन परिस्थितिमा राहत उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।

Adv footer