
बिर्तामोड, जेठ १० । बिर्तामोडका युवा खेलाडी दर्शिल अग्रवाल रहेको डिआरएस गेमिङको फ्रि फायर टोली विश्वकै प्रतिष्ठित इस्पोर्टस् विश्वकपका लागि छनोट भएको छ ।

आज सम्पन्न फाइनल प्रतियोगितामा नेपालबाट मात्रै एक हजारभन्दा बढी टोली सहभागी भएका थिए । तीमध्ये दोस्रो चरणमा १८ टोली पुगेका थिए भने अन्तिम चरणमा १२ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

उत्कृष्ट प्रदर्शन गर्दै डिआरएस गेमिङले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्थान सुरक्षित गरेको हो । टिममा अग्रवालसहित पाँचजना खेलाडी रहेका छन् ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा फ्रान्सको पेरिसमा आगामी जुलाई महिनामा आयोजना हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि प्राप्त गर्ने बताइएको छ ।

त्यस्तै, हाल सम्पन्न राष्ट्रिय फाइनल जित्न सफल डिआरएस गेमिङ टोलीले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । नेपालमा पछिल्लो समय इस्पोर्टस्मा पनि युवाहरुको आकर्षण बढिरहेको छ ।







