
बिर्तामोड, जेठ २६ । जिल्ला र प्रदेशको तहगत निर्वाचन गर्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कडा कदमका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई आसन्न फिफा विश्वकप २०२६ मा सहभागी हुन जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले रोकेर फर्काएको छ।

राखेपले अध्यक्ष र महासचिवसहित एन्फाका २१ पदाधिकारीलाई वैदेशिक भ्रमणमा रोक लगाउँदै कालोसूचीमा राखेपछि विश्वकपको उद्घाटन सत्रमा भाग लिन मेक्सिको उड्न लागेका उनीहरू विमानस्थलबाटै फर्किन बाध्य भएका हुन्। फिफा र एएफसीको चौतर्फी दबाबपछि गत वैशाखमा राखेपले नेपालको फुटबल विवादलाई निकास दिन भन्दै एन्फामाथिको निलम्बन विनासर्त फुकुवा गरे पनि पदाधिकारीहरूको वैदेशिक भ्रमणको प्रतिबन्ध भने फुकुवा नगरेका कारण यो परिस्थिति सिर्जना भएको हो।

निलम्बनको समयमा राखेपले नै एन्फाका पदाधिकारीहरूलाई वैदेशिक भ्रमणमा रोक लगाउन गत वैशाख १२ गते अध्यागमन विभाग र गृह मन्त्रालयलाई पत्र पठाएको थियो। प्रतिबन्ध फुकुवा भएलगत्तै विश्वकपको भ्रमण प्रक्रिया अगाडि बढाएका पदाधिकारीहरू उड्न लागेका बेला अध्यागमनले राखेपबाट भ्रमण फुकुवाको अर्को पत्र नआएको भन्दै उनीहरूलाई विमानस्थलमै रोकेको एन्फा स्रोतले पुष्टि गरेको छ। विमानस्थलबाट बाध्य भएर फर्किएका अध्यक्ष नेम्वाङ र महासचिव राई तत्कालै फुकुवा पत्रका लागि राखेप पुगेका थिए। तर, राखेपका सदस्यसचिव रामचरित्र मेहताले उनीहरूको विदेश भ्रमण फुकुवा गर्न साफ इन्कार गरिदिएका छन्।

सदस्यसचिव मेहताले एन्फा नेतृत्वले जिल्ला र प्रदेशसहितको तहगत निर्वाचन गर्नुपर्ने राखेपको निर्देशनलाई लगातार अटेरी र बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले निर्देशन पालन नगर्ने हो भने नेतृत्वले राजीनामा दिएर मात्रै विदेश जान सक्ने कडा अडान राखेका छन्।

फिफाले विश्वकप जस्ता ठुला प्रतियोगिताको उद्घाटन र समापन सत्रमा सदस्य राष्ट्रका अध्यक्ष र महासचिवलाई विशिष्ट आतिथ्य प्रदान गर्ने परम्परा अनुसार उनीहरू मेक्सिको जाने तयारीमा थिए। तर, राखेपको यो पछिल्लो अप्रत्याशित कदमले एन्फाका अध्यक्ष, महासचिव, २१ पदाधिकारी, सीईओ, प्रवक्ता र सहमहासचिव समेत कालोसूचीमा परेपछि नेपाली फुटबल नेतृत्व विश्वकपको मञ्चमा सहभागी हुनबाट बञ्चित हुने निश्चित भएको छ। राखेप र एन्फाबिचको यो द्वन्द्वले नेपाली फुटबल क्षेत्रमा फेरि नयाँ विवाद र तरङ्ग पैदा गरिदिएको छ।






