
बिर्तामोड, जेठ २९ । झापाको मेचीनगर–१३ चारआलीमा आयोजित प्रथम चारआली गोल्डकप २०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक बज्र स्पोट्र्स एकेडेमीले हातेमालो सामुदायिक बनको भवनमा गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगिताबाट १२ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ भने १४ लाख ७४ हजार ४ सय रुपैयाँ खर्च भएको देखिएको छ । विवरणअनुसार प्रतियोगितामा १ लाख ९८ हजार ४ सय रुपैयाँ घाटा भएको देखिएको छ ।

आयतर्फ सहयोगी दाताहरू, विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो । विजेता तथा उपविजेता पुरस्कार, ट्रफी तथा मेडल, मैदान निर्माण, खेलाडी तथा अफिसियल व्यवस्थापन, खानपान, रेफ्री खर्च, प्रचारप्रसार, यातायात, स्वयमसेवक तथा विविध शीर्षकमा रकम खर्च गरिएको विवरणमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा खेल संयोजक निमा शेर्पाले प्रतियोगिताको समग्र गतिविधिबारे जानकारी गराएका थिए भने बज्र स्पोट्र्स एकेडेमीका अध्यक्ष फुर्वा लामाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, खेलप्रेमी, दर्शक, खेलाडी, स्वयमसेवक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।






