
बिर्तामोड, जेठ ३१ । झापाका विभिन्न पालिकामा बितेको १५ वर्षमा हात्तीको आक्रमणमा ६८ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार यो अवधिमा हात्तीको आक्रमणमा मृत्यु हुने विदेशी नागरिक नौजना रहेका छन् । २०६२ सालदेखि हालसम्म झापामा २५ वटा जङ्गली हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्रै झापामा जंगली हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भएको छ । आज बिहान मात्र बाहुनडाँगीमा ६२ वर्षीया पद्मा पौडेलको हात्ती आक्रमणबाट ज्यान गएको छ ।

चालु आर्थिक वर्षमा झापामा तीनवटा हात्तीको मृत्यु भएको छ । मानव–हात्तीबीच बढ्दो द्वन्द्वका कारण दुवैतर्फ निरन्तर क्षति हुँदै आएको छ ।

झापामा आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए । सो वर्ष दुईवटा हात्ती मरेका थिए ।

झापाको बाहुनडाँगी जंगली हात्तीको सबैभन्दा बढी जोखिममा रहँदै आएको छ । भारतबाट आउने हात्तीको प्रवेश विन्दु नै बाहुनडाँगी हो । त्यस्तै, मेचीनगर, दमक, बिर्तामोड, अर्जुनधारा, हल्दिबारी, भद्रपुर, कचनकवल पनि हात्ती प्रभावित क्षेत्र हुन् ।

मेचीनगरको बाहुनडाँगी, धुलाबारी, धाइजनबाहेकका क्षेत्रमा झापाका स्थानीय वनमा रहेका हात्तीले आक्रमण गर्नेगरेको छ । जलथल, चारआली, मागुरमाडी, कालिका, हम्सेदुम्से लगायतका वनमा रैथाने हात्ती रहेका छन् ।





