
बिर्तामोड, असार ६ । बागमती प्रदेशको मकवानपुरमा तीन साताअघि भएको तीन दिने खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका झापाको एक बक्सिङ क्लबका प्रशिक्षार्थीलाई सम्मान गरिएको छ ।

आज एक कार्यक्रमका बीच अर्जुनधारा ११ नयाँ बसपार्कको एक्सथ्री बक्सिङ क्लबका अञ्जन मल्ललाई विशेष सम्मान गरिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बाले मल्ललाई सम्मानपत्र प्रदान गरे ।

झापामा अग्रज बक्सिङ प्रशिक्षक डम्बर लिम्बुका अनुसार झापाका मल्लसहित तीनजना खेलाडीले मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा कभर्ड हलमा सम्पन्न अल नेपाल ओपन यु–२२ ओपन बक्सिङ च्याम्पियनसिपमा पदक प्राप्त गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा अञ्जन मल्लले स्वर्ण पदक प्राप्त गरे । उनी १९ वर्षमुनि विधामा सहभागी थिए ।

उनले फाइनलमा सुनसरीका असिम लिम्बुलाई हराउँदै प्रथम भएका थिए । अञ्जन ६५ केजी तौल समूहबाट प्रतियोगितामा सहभागी भएको प्रशिक्षक लिम्बुले जानकारी दिए ।

त्यस्तै, झापाका प्रतिक गौतमले रजत पदक प्राप्त गरेका थिए । यु–२२ विधामा सहभागी उनी सुनसरीका सिंहवीर लिम्बुसँग फाइनल राउन्डमा पराजित भए । उनी ५५ केजी समूहबाट सहभागी भएका थिए ।
त्यस्तै, युवराज भट्टराई कास्य पदकमा सीमित भए । यु–२२ विधामा ५० केजी समूहबाट प्रतिस्पर्धी बनेका भट्टराई सेमिफाइनलमा आयोजक हेटौँडामा फुङलाङ काम्बाङसँग पराजित भएको प्रशिक्षक लिम्बुले बताए ।





