
बिर्तामोड, असार ७ । किशोरकिशोरी तथा बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र अन्तरनिहित प्रतिभाको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले पिसिएस प्रोडक्सनद्वारा आयोजित ‘मिस्टर एन्ड मिस मेचीनगर–२०२६’ तथा ‘मिस्टर एन्ड मिस मेचीनगर जुनियर–२०२६’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

एक महिनासम्म सञ्चालन गरिएको प्रशिक्षण अवधिमा सहभागीहरूलाई अभिनय, नृत्य, पौडी, र्याम्प वाक, व्यक्तित्व विकास, शिष्टाचार, पदयात्रा, वक्तृत्वकला, नेतृत्व विकास तथा सेलिब्रेटीसँग अन्तरक्रियालगायतका विविध सीपमूलक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सिनियरतर्फ इनिश राया ‘मिस्टर मेचीनगर २०२६’ तथा प्रसुक्षया हुमागाईं ‘मिस मेचीनगर २०२६’ घोषित भए । यसैगरी सुदीप्ति राई प्रथम रनरअप र आयुष राई द्वितीय रनरअप बने । ‘भोटिङ स्टार अवार्ड’ रिहाना लिम्बु तथा ‘पब्लिक च्वाइस अवार्ड’ प्रसुक्षया हुमागाईंले प्राप्त गरिन् ।

जुनियरतर्फ दियान घिमिरे ‘मिस्टर मेचीनगर जुनियर २०२६’ तथा दिव्या थापा ‘मिस मेचीनगर जुनियर २०२६’ घोषित भए । सहिना गुरुङ प्रथम रनरअप र सोनिया भारती द्वितीय रनरअप बनेका छन् । ‘भोटिङ स्टार अवार्ड’ दिव्या थापा तथा ‘पब्लिक च्वाइस अवार्ड’ सहिना गुरुङले जितेका छन् ।

विजेताहरूलाई नगद पुरस्कार, स्मार्टफोन, साइकल, विभिन्न छात्रवृत्ति, क्राउन, ट्रफी, मिडिया अन्तर्वार्ता अवसर, डिजिटल मार्केटिङ तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख निर्णायकका रूपमा अर्शु महर्जन रहेका थिए । अन्य निर्णायकहरूमा डा. मनिषा सुवेदी, विवेश राई, गीत बस्नेत, कल्पना उप्रेती प्रसाईं र सुमन शर्मा सहभागी थिए ।
कार्यक्रमलाई सफल बनाउन पिसिएस प्रोडक्सनका म्यानेजिङ डाइरेक्टर विवेक खड्का, अध्यक्ष पुकार कार्की, आयोजक टोली, प्रशिक्षक, अभिभावक, सहयोगी संस्था तथा प्रायोजकहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ । कार्यक्रम सञ्चालन प्रयुष पौड्यालले गरेका थिए ।
यस अवसरमा पिसिएस प्रोडक्सनले आफ्नो आगामी प्रतियोगिता रोयल झापा सिजन–३ तथा सुपर लिटल प्रिन्स एन्ड प्रिन्सेसका लागि दर्ता खुला गरिएको जानकारी दिँदै प्रतिभावान बालबालिका तथा युवायुवतीलाई सहभागिताका लागि आह्वान गरेको छ । आयोजकले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रममार्फत युवाहरूको प्रतिभा उजागर गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।





