
बिर्तामोड, असार १९ । भारतीय रेलवे बोर्डले नेपालसँग सम्बन्धित दुई महत्वपूर्ण रेल परियोजनाहरूको लागि अन्तिम स्थान सर्वेक्षण अनुमोदन गरेको छ । पूर्वोत्तर सीमा रेल (निर्माण) ले एक २६ जुनमा सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

परियोजनाअन्तर्गत गलगलिया (भारत)–भद्रपुर–हल्दिबारीको काजली बजार र विराटनगर–नयाँ माल जंक्सन रेल लिंकहरू समावेश छन् । यो निर्णयलाई नेपालको पूर्वी तराई क्षेत्रको लागि आर्थिक र रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ ।

झापा र मोरङ जिल्लाका व्यवसायीहरूले यी परियोजनाहरू साकार भएमा दशकौँदेखि सडक यातायातमा निर्भर रहेको भारत–नेपाल व्यापारलाई नयाँ दिशा प्रदान गर्ने विश्वास गरेका छन् ।

प्रस्तावित रेल परियोजनाले भद्रपुर सीमावर्ती क्षेत्रलाई भारतीय रेल नेटवर्कसँग प्रत्यक्ष जोड्ने छ । यसले झापा, इलाम र वरपरका जिल्लाहरूबाट कृषि उत्पादन, चिया, काठ र अन्य वस्तुहरूको निर्यातमा उल्लेखनीय रूपमा फाइदा पु¥याउन सक्छ ।

प्रस्तावित विराटनगर–नयाँ माल जंक्सन रेल लिंकले औद्योगिक एकाइहरूलाई भारतीय रेल नेटवर्कमा अझ सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले आयात र निर्यात लागत घटाउन र औद्योगिक लगानीलाई प्रोत्साहन गर्न सक्छ ।

यसअघि भारतीय रेल मन्त्रालयअन्तर्गत रेलवे बोर्डले ५ जुन २०२४ मा जारी गरेको स्वीकृति पत्रमार्फत नेपालसँगको रेल सम्पर्क विस्तारका लागि गलगलिया (भारत)–भद्रपुर–काजलीबजार(नेपाल) खण्डको १२.५ किलोमिटर नयाँ रेलमार्गको फाइनल लोकेशन सर्वे स्वीकृत गरेको थियो। उक्त सर्वेका लागि ३१.२५ लाख भारतीय रुपैयाँ बजेट विनियोजन गरिएको कागजातमा उल्लेख छ।





