२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

इन्धन भएर पनि छैन भन्ने पम्पलाई १५ दिन आपूर्ति रोक्का


बिर्तामोड, असार १९ । बिनाकुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ लाई संशोधन गर्दै अभाव सिर्जना गराउने व्यवसायीलाई कारबाही गर्न सकिने नियम ल्याएको हो ।

यो नियमअनुसार यस्तो गल्ती गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तिराउनुका साथै ५ देखि १५ दिनसम्म इन्धन आपूर्तिमै रोक लगाउन सकिने आयल निगमले जनाएको छ ।

इन्धनको मूल्य घट्ने अनुमान गर्दै व्यवसायीहरूले मंगलबार निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा बुधबार देशभरि इन्धनको आपूर्ति प्रणाली प्रभावित भएको थियो ।

अत्यावश्यक वस्तुको आपूर्तिमा नियतवश अवरोध सिर्जना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्यस्ता गतिविधि रोक्न तत्काल कदम चाल्न निगमलाई निर्देशन दिएकी थिइन् ।

मन्त्रीको सोही निर्देशनबमोजिम निगमको सञ्चालक समिति बैठकले विनियमावली संशोधन गर्दै पम्पको ‘नोजल सुक्खा’ (ड्राई) राखेर अभाव गराउन नपाइने’ प्रावधान थपेको हो ।

Adv footer