
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङिलस स्कुल औपचारिक रूपमा ‘क्याम्ब्रिज इङिलस एजुकेसनल पार्टनर’ घोषित भएको छ । विद्यालयले एक विशेष समारोहका बीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका महत्वपूर्ण सम्झौताहरू गर्नुका साथै ‘इन्भेस्टिचर समारोह–२०८३’ समेत सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा शिक्षाको प्रवर्द्धन र विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्यले विद्यालयले यो प्रतिष्ठित मान्यता प्राप्त गरेको हो । समारोहमा एलसिसिआई जिक्युका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं नेपाल–बेलायत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले तक्षशिलाकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की तथा शैक्षिक निर्देशक डा. भिक्टर इग्नेसियस जोसेफलाई क्याम्ब्रिज इङिलस एजुकेसनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गरे ।

सोही अवसरमा क्याम्ब्रिज इङिलस र तक्षशिला स्कुलबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा डा. राठी र डा. कार्कीले हस्ताक्षर गरेका थिए । यो सहकार्यपछि विद्यार्थीहरूको अंग्रेजी भाषा दक्षता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिकाइ प्रणालीको विस्तार र विश्वव्यापी प्रमाणपत्र हासिल गर्ने अवसरहरू खुल्ने विद्यालयले जनाएको छ ।

न्युजिल्यान्डको थ्रिडिआइसँग पनि रणनीतिक साझेदारी
विद्यालयले डिजिटल प्रविधि र भविष्यमुखी शिक्षालाई प्राथमिकता दिँदै न्युजिल्यान्डको प्रतिष्ठित संस्था थ्रिडिआइसँग पनि रणनीतिक साझेदारी गरेको छ । समझदारीपत्रमा थ्रिडिआइका प्रतिनिधि र स्कुलकी कार्यकारी निर्देशक डा. कार्कीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले विद्यालयमा नवप्रवर्तन र डिजिटल प्रविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सघाउने विश्वास लिइएको छ ।

नवनिर्वाचित विद्यार्थी परिषद्को शपथ र प्रविधि प्रदर्शनी
कार्यक्रममा नवनिर्वाचित विद्यालय परिषद्–२०८३ का पदाधिकारीहरूको शपथ ग्रहण तथा पदस्थापन गराइएको थियो । विद्यार्थी नेतृत्वले जिम्मेवारी, अनुशासन र इमान्दारिताका साथ दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवसरमा विभिन्न विभागीय प्रमुख शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।

समारोहको अर्को मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा अत्याधुनिक प्रविधिको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले भर्चुअल रियालिटी, थ्रिडी प्रिन्टिङ, ड्रोन प्रविधि, रोबोटिक्स, वेब तथा एप विकास सम्बन्धी आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिव तिलचन्द भण्डारी प्रमुख अतिथि र नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । उनीहरूले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र नैतिकताको मार्गमा अघि बढ्न प्रेरणादायी सम्बोधन गरेका थिए ।
विद्यालयले आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, नवप्रवर्तनमुखी र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विश्व बजारमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।





