२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

चारआली ओभरपासको काम ५० प्रतिशत सम्पन्न, मुक्तिचोकमा अर्को साता सुरु हुने


बिर्तामोड, असार २२ । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ ।

एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार बिर्तामोड–२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ ।

चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर ¥याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताए । ओभरपास सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् ।

स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन् । यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ ।

इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युतका खम्बा स्थानान्तरणले गर्दा हो । अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उनले बताए ।

सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकरभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व–पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड, दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो ।

चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गरे । उनका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ ।

Adv footer