
बिर्तामोड, असार २२ । झापामा नियमविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरु कारबाहीको दायरामा आएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हँुदै आएको दाबी गरेको छ ।

इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयहरुले झापाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।

प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकारमा झापाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको उनले जानकारी दिए ।

दमकमा करिब ९०, बिर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् ।

भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।

खासगरी, जापान, कोरिया र इजराइल जाने तयारीमा रहेकाहरुसँग भाषा प्रशिक्षण र अन्य प्रक्रियाका लागि भनेर ती कन्सल्टेन्सीहरुले नियमविपरीत रकम लिँदै आएका छन् ।





