२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

विद्यालयमा हिउँदे र वर्षे बिदा कटौती, खेलकुदमा प्रतिभा भएकालाई छात्रवृत्ति


बिर्तामोड, असार २२ । विद्यालयको हिउँदे र वर्षे बिदा कटौती भएको छ । अब ३० दिन मात्र बिदा दिइने छ । यसअघि हिउँदे र वर्षे बिदा ४५ दिनको थियो ।

सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिइरहेकाले हिउँदे र वर्षे बिदा कटौती गरेको हो । तर विद्यालयमा काम गर्ने समय भने २२० दिन नै राखिएको छ ।

‘कुनै विशिष्ट कारणबाट एक शैक्षिक सत्रमा २२० कार्य दिन पुग्न नसक्ने भएमा तोकिएको पाठ्यभार र पाठ्य घण्टा मिलान हुने गरी मन्त्रालयले काम गर्ने दिन समायोजन गर्न सक्नेछ,’ संशोधित नियमावलीमा भनिएको छ ।

खेलकुदमा प्रतिभा भएका विद्यार्थीलाई छात्रवृत्ति
खेलकुदमा प्रतिभा भएका विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ । छात्रवृत्तिलाई शतप्रतिशत मानेर २० प्रतिशत खेलकुद क्षेत्रमा प्रतिभावान विद्यार्थीहरूलाई प्रदान गर्ने व्यवस्था मिलाई त्यसरी छनोट भएका विद्यार्थीहरूको नामावली विद्यालयले सार्वजनिक गर्नुपर्ने नियम राखिएको छ ।

तर, खेलकुदसम्बन्धी मान्यता प्राप्त निकायबाट खेलकुदको क्षेत्रमा प्रतिभावान भएको भनी प्रमाणित गर्नुपर्नेछ । यसअघि संस्थागत विद्यालयले कूल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नियम छ । अब खेलकुदमा प्रतिभा भएका विद्यार्थीलाई पनि छात्रवृत्ति दिइने भएको छ ।

Adv footer