२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

झापामा पहिलोपटक इको साइनको अत्याधुनिक लन्ड्री


बिर्तामोड, असार २३झापाको अर्जुनधारामा आधुनिक प्रविधिमा आधारित व्यावसायिक लन्ड्री तथा सेनिटाइजेसन सेवा सञ्चालनमा आउने भएको छ।

‘इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिस’ले कपडा तथा विभिन्न सतहलाई सुरक्षित रूपमा कीटाणुमुक्त बनाउने उद्देश्यसहित सेवा सुरु गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीसँगै होटल, अस्पताल, बैंक, विद्यालय, उद्योग तथा घरायसी प्रयोगका कपडाको वैज्ञानिक, स्वच्छ र गुणस्तरीय व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याइएको संस्थाले जनाएको छ।

यस सेवामा अत्याधुनिक ड्राइ क्लिनिङ, प्रिमियम लन्ड्री, इको–फ्रेन्ड्ली (वातावरणमैत्री) सेनिटाइजेसन तथा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल प्रविधिको प्रयोग गरिनेछ। यसबाट कपडामा रहेका हानिकारक जीवाणु तथा कीटाणुलाई सुरक्षित स्तरसम्म न्यूनीकरण गरी सरसफाइ र स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको संस्थाका डाइरेक्टर सोवित प्रसाईले बताए।

संस्थाका बिजनेस एडभाइजर नविन ढुंगानाका अनुसार यस परियोजनामा २ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ। दैनिक ३ हजारदेखि ४ हजार केजीसम्म कपडा प्रशोधन गर्ने क्षमता रहेको यस प्लान्टमा अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक मेसिनहरू जडान गरिएका छन्। विशेषगरी होटल, अस्पताल, उद्योग तथा ठूला व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो।

संस्थाले बिर्तामोड, भद्रपुर, काँकरभिट्टालगायत आसपासका क्षेत्रका ग्राहकहरूलाई सहज, गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। यस सेवाले कपडाका माध्यमबाट सर्न सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्दै स्वच्छता र जनस्वास्थ्य प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने बताइएको छ।

हाल २० जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको यस संस्थाले आगामी दिनमा कोशी प्रदेशभर सेवा विस्तार गर्दै आधुनिक लन्ड्री तथा सेनिटाइजेसन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

पत्रकारले राखेका जिज्ञासाको समाधान असिस्टेन्ट डाइरेक्टर गोविन्द श्रेष्ठ र टेक्निकल कन्सल्टेन्ट उज्वल उप्रेतीले गरेका थिए।

Adv footer