बिर्तामोड, असार २३। विश्व पहिले कहिल्यै यति धेरै जोडिएको थिएन। हरेकको खल्तीमा इन्टरनेट, हातमा स्मार्टफोन र हरेक पल नोटिफिकेसन छन्। तर मानिसको छिमेक, समाज र सम्बन्धबाट दूरी बढिरहेको छ।

यही चिन्ताबीच बेलायतमा सार्वजनिक जीवनसँग जोडिएका प्रमुख व्यक्तिहरूले ‘राष्ट्रिय संवाद परियोजना’ (नेसनल कन्भर्सेसन प्रोजेक्ट) सुरु गरेका छन्। मानिसहरूलाई सोधिँदै छ- जनतालाई कुन कुराले जोड्छ, कुन कुराले बाँड्छ, छिमेकीसँगको सम्बन्ध कसरी बढाउने र कुन कुराले देशलाई ‘घर’ जस्तो महसुस गराउँछ।

यसका लागि ‘सामुदायिक एकता र सामाजिक सद्भाव’ सम्बन्धी स्वतन्त्र आयोग बनेको छ। यसका अध्यक्ष पूर्व कन्जरभेटिभ चान्सलर साजिद जाविद र लेबर पार्टीका पूर्व नीति प्रमुख जोन क्रुडास हुन्।

क्रुडास भन्छन्, ‘बेलायतको सामाजिक संरचना र समुदायको भावनालाई बलियो बनाउनुपर्ने आवश्यकता यसअघि कहिल्यै यति धेरै महसुस भएको थिएन। यो कसरी सम्भव छ, देशले नै बताउनेछ।’

अगस्टसम्म चल्ने सर्वेक्षणमा मानिसहरूले फारम भर्नेछन् र ६० सेकेन्डको भ्वाइस नोटमा भविष्यको बेलायत कस्तो हुनेछ भनेर बताउनेछन्।

अमेरिका र बेलायतमा बढ्दो सामाजिक दूरी
यस पहलको पछाडिको डर बढ्दो राजनीतिक मतभेदको मात्र होइन, समाजभित्र बढ्दै गएको दूरीको पनि हो। ब्रिटिस रेडक्रसको हालैको अध्ययनमा ७५ प्रतिशत मानिसले बेलायत विभाजित देश भएको बताएका छन्। ७२ प्रतिशतले विगत पाँच वर्षमा यो दूरी अझ बढेको मान्छन्।

सामाजिक विखण्डनको यो ट्रेन्ड बेलायतमा मात्र छैन। अमेरिकामा पनि छिमेकीहरूबीचको कुराकानी तीव्र रूपमा घटिरहेको छ। अमेरिकी थिंक ट्याङ्क ‘एईआई’ का अनुसार, २०१२ मा ५९ प्रतिशत अमेरिकीहरू हप्तामा धेरै पटक छिमेकीसँग कुरा गर्थे।
तर, २०२५ मा यो आँकडा करिब ४० प्रतिशतमा झरेको छ। युवाहरूमा यो स्थिति अझ गम्भीर छ। १८ देखि २९ वर्ष उमेर समूहमा छिमेकीसँगको नियमित कुराकानी ५१ प्रतिशत बाट घटेर २५ प्रतिशतमा सीमित भएको छ।
घरहरू बने ‘मनोरञ्जन बंकर’
रिपोर्टले भन्छ कि प्रविधिले मानिसहरूलाई आत्मनिर्भर त बनायो, तर सामाजिक रूपमा एक्लो पनि बनाइदियो। अहिले मनोरञ्जन, किनमेल, ठेगाना सोध्ने, सल्लाह लिने- यी सबै काम मोबाइल स्क्रिनमै हुन्छन्। मानिसहरूलाई कसैको ढोका ढकढक्याउनै पर्दैन।
एईआईका अनुसन्धान निर्देशक डेनियल कक्स भन्छन्, ‘घरहरू अब मनोरञ्जन बंकर बनेर सीमित भएका छन्।’
विश्व स्वास्थ्य सङ्गठनले पनि एक्लोपन र सामाजिक अलगावलाई सार्वजनिक स्वास्थ्य सङ्कट मान्न थालेको छ।
डब्लुएचओका अनुसार सामाजिक दूरीले मानसिक तनाव मात्र होइन, मुटुको रोग, डिप्रेसन र असामयिक मृत्युको जोखिम पनि बढाउँछ। विश्वमा हरेक पाँचौँ व्यक्तिले प्रायः एक्लोपन महसुस गर्छ।
विशेषज्ञहरू यसलाई ‘साइलेन्ट सोसल क्राइसिस’ (मौन सामाजिक सङ्कट) भन्छन्।
पहिले समाज परिवार, छिमेक, धार्मिक-सांस्कृतिक कार्यक्रम र स्थानीय समूहहरूसँग जोडिएको हुन्थ्यो। अहिले अल्गोरिदमले पहिचान र कुराकानी तय गरिरहेको छ। यसले डिजिटल समूहहरू निर्माण गरिरहेको छ, जहाँ मानिसहरू आफ्ना जस्तै विचार राख्नेहरूलाई मात्र सुन्छन्।
आधुनिक समाजमा मानिसहरूलाई फेरि कसरी जोड्ने भनेर खोजी गरिरहेकाले बेलायतको यो पहल महत्त्वपूर्ण छ। अबको मुख्य चुनौती प्रविधिसँग जोडिने होइन, सम्बन्धहरूसँग जोडिने हो।
छिमेकमा पनि उस्तै छ समस्या
पश्चिमी देशहरूको तुलनामा भारतमा परिवार अझै पनि बलियो मानिन्छ। तर, सहरी जीवन, जागिरको दबाब र मोबाइलमा आधारित दैनिकीले सम्बन्धको प्रकृति बदलिरहेको छ।
‘हेल्प एज इन्डिया’ को एक रिपोर्टअनुसार ६९ प्रतिशत युवा र ६८ प्रतिशत वृद्धवृद्धा बुढेसकालमा एक्लो हुने कुराले डराउँछन्।
यो सङ्कट अब वृद्धवृद्धाको मात्र रहेन। सबैभन्दा बढी एक्लोपन युवाहरूमा देखिँदै छ। उनीहरू अनलाइनमा सबैभन्दा बढी जोडिएका छन्, तर वास्तविक सामाजिक सम्बन्धहरू भने सबैभन्दा कमजोर बनिरहेका छन्।–एजेन्सी





