२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

एक करोड मूल्यबराबरको ब्राउन सुगरसहित नक्सलबाट दुईजना पक्राउ


बिर्तामोड, असार २४ । लागुऔषध कारोबारको प्रमुख हब बनिरहेको झापाको सीमावर्ती क्षेत्र भारतको नक्सलबारीबाट ठुलो परिणामको ब्राउन सुगरसहित दुईजना लागुऔषध तस्कर पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मिजानुल शेख र नसिम शेख रहेका छन् । दुवैजना लागुऔषध तस्करहरु भारत माल्दा जिल्लाको वैष्णवनगर क्षेत्रका बासिन्दा भएको बताइएको छ । उनीहरु एक दशकयता ब्राउन सुगरको कारोबार र तस्करीमा संलग्न हुँदै आएका थिए ।

प्रहरीका अनुसार भारत पश्चिम बंगाल प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) को लागुपदार्थ तस्करीविरुद्धको कारबाहीमा उनीहरु साढे ३ केजी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

दुवैजना अबेर राति माल्दाबाट नक्सलबारी लागुऔषध डेलिभरी गर्न आएका थिए । गोप्य सूचनाको आधारमा एसटिएफले नक्सलबारीको रथखोला मोडमा छापा मारेर दुवैजनालाई पक्राउ गरेको हो ।

खानतलासीको क्रममा उनीहरुको साथमा रहेको एउटा किनमेल झोलाबाट करिब साढे ३ केजी ब्राउन सुगर फेला परेको थियो । लागुऔषध बरामदपछि एसटिएफले मिजानुल र नसिमलाई थप कानुनी प्रक्रियाका लागि नक्सलबारी थानामा बुझाएको छ ।

उनीहरु प्रहरीबाट जोगिदै आएका थिए । भारतीय प्रहरीले पूरै नेटवर्क र त्यस तस्करीसँग जोडिएका अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको जनाएको छ । नक्सलमा ब्राउन सुगर खरिद गर्न झापाबाट कारोबारीहरु पानीट्यांकी हुँदै पुग्ने गरेका छन् ।

बरामद भएको ब्राउन सुगरको नेपाली मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ । झापामा अवैध रुपमा ब्राउन सुगरको कारोबार प्रतिग्राम तीन हजार रुपैयाँसम्म हुँदै आएको बताइन्छ ।

Adv footer