
बिर्तामोड, असार २४ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई चारवटा मुद्दामा दोषी ठहर गरेको छ ।

उनलाई शरणार्थी परिचयपत्रमा कीर्ते गरेको भन्दै सरकारी लिखत कीर्ते सम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ । त्यस्तै, ठगी तथा संगठित अपराधमा मतियार बनेको भनेर पनि दोषी करार गरिएको छ ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा ठगी तथा संगठित अपराधको मतियार भएकाले राज्यविरूद्धको अपराधमा पनि अदालतले उनलाई मतियारको रूपमा दोषी ठहर गरेको छ । यसबाहेक उनी एकीकृत कसुर गरेकामा पनि दोषी ठहर भएका छन् ।

त्यस्तै, यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले फैसला सुनाएको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोक्न भनेको छ ।

२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।
सूचना अधिकारी खतिवडाले उपलब्ध गराएको फैसलाको पूर्ण पाठ अनुसार ७ जना प्रतिवादीले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन् ।
प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ । पूर्वगृहमन्त्री खाँणलाई भने यिनै कसुरमा मतियार ठहर गरिएको छ ।
पूर्व गृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत कीर्ते, ठगी तथा संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको छ ।





