
बिर्तामोड, असार २५ । झापाको झापा गाउँपालिकामा पानी तान्ने मोटर चोरीको घटना रोकिएको छैन । हिजो राति फेरि झापा ४ पेचकारनी टोलमा सिँचाइको मोटर चोर्दाचोर्दै एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई-४ सुरुङ्गा निवासी २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । चौधरीलाई स्थानीयबासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहानको राति करिब १२ः४० बजे मिस महमदले घरदेखि करिब ६०० मिटर टाढा खेतमा सिँचाइका लागि राखेको ४ इन्चको सिँचाइको मोटर चोरी गर्ने क्रममा स्थानीयबासीले देखेपछि चौधरीलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि स्थानीयले टाघनडुब्बा प्रहरी चौकीमा खबर गरेका थिए ।

टाघनडुब्बा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेका चौधरीलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ ।

झापा गाउँपालिका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुने पानी तान्ने मोटर हराउने गरेको करिब दुई वर्ष भइसक्दा पनि प्रहरीले घटनामा संलग्नलाई भने पक्राउ गर्न सकेको छैन ।






