२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

झापामा कक्षा १–५ मा धमाधम आन्तरिक परीक्षा, संघीय सरकार हेरेको हेर्‍यै


बिर्तामोड, असार २५ । संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा प्रणाली पूर्ण रुपमा बन्द गर्ने घोषणा गरे पनि झापाका अधिकांश विद्यालयले धमाधम परीक्षा लिइरहेका छन् ।

विद्यालयहरूले ’टेस्ट’, ’प्रोजेक्ट वर्क’ वा वस्तुगत प्रश्न सोध्ने बहानामा परीक्षा लिइरहेको अभिभावकहरूको गुनासो छ । झापाका अधिकांश निजी विद्यालयमा अहिले प्रथम त्रैमासिक परीक्षा जारी छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ४ र ५ मा पनि शतप्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन कायम गरेको जनाएको छ । तर, परीक्षा तालिका नै सार्वजनिक गरेर परीक्षा भइरहेको हो । निजी विद्यालयले परीक्षा शुल्क पनि लिएका छन् ।

यसअघि कक्षा १ देखि ३ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन भए पनि यो पटकदेखि कक्षा ४ र ५ मा पनि शतप्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन कायम भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भनिए पनि यो निर्णय पूर्णतः कार्यान्वयन हुन सकेको छैन ।

तथ्याङ्क अनुसार झापामा ७२० विद्यालय छन् । जसमध्ये ४०८ वटा सामुदायिक विद्यालय, ३१२ वटा संस्थागत विद्यालय छन् । झापामा एक सयको हाराहारीमा धार्मिक विद्यालय छन् ।

Adv footer