२०८३ साउन ५ मंगलबार
Jhapa Today
Adv top

अत्याधुनिक प्रविधिको लुगा धुने इको साइनको उद्घाटन


बिर्तामोड, असार २५ । झापाको अर्जुनधारामा अत्याधुनिक प्रविधिको इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिसको उद्घाटन गरिएको छ । व्यावसायिक लन्ड्री तथा सेनिटाइजेसन सेवा प्रदान गर्ने उद्देश्यले इको साइन स्थापना गरिएको हो ।

आज एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्योगको उद्घाटन गरिन् । अर्जुनधारा ६ को वडा कार्यालयनजिकै रहेको इको साइनले कपडा धुलाईको कामलाई प्रमुखताका साथ लिने जनाएको छ ।

त्यस्तै, विभिन्न सतहलाई सुरक्षित रूपमा कीटाणुमुक्त बनाउने उद्देश्यसहित सेवा सुरु गर्न लागेको संस्थाका निर्देशक सोवित प्रसाईंले जानकारी दिए । होटल, अस्पताल, बैंक, विद्यालय, उद्योग तथा घरायसी प्रयोगका कपडाको स्वच्छ र गुणस्तरीय व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याइएको संस्थाले जनाएको छ ।

इको साइनमा अत्याधुनिक ड्राइ क्लिनिङ, प्रिमियम लन्ड्री, इको–फ्रेन्ड्ली (वातावरणमैत्री) सेनिटाइजेसन तथा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल प्रविधिको प्रयोग गरिने प्रसाईंले बताए ।

संस्थाका बिजनेस एडभाइजर नविन ढुंगानाका अनुसार कम्पनीमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । दैनिक ३ हजारदेखि ४ हजार केजीसम्म कपडा प्रशोधन गर्ने क्षमता रहेको यस प्लान्टमा अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक मेसिनहरू जडान गरिएका छन् ।

संस्थाले बिर्तामोड, भद्रपुर, काँकरभिट्टालगायत आसपासका क्षेत्रका ग्राहकहरूलाई सहज, गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

हाल २० जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको यस संस्थाले आगामी दिनमा कोशी प्रदेशभर सेवा विस्तार गर्दै आधुनिक लन्ड्री तथा सेनिटाइजेसन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन कार्यक्रममा उपप्रमुख पराजुली, वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, जुनु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adv footer