
बिर्तामोड, साउन ४ । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय झापाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान १०ः४५ बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१५ की ४० वर्षीया आरती उराउ छन् । उनी तीनपांग्रे विद्युतीय गाडी सिटी सफारीमा रहेका यात्रु हुन् ।

दुर्घटना मेचीनगर-१५ कालिकास्थित भद्रपुर काँकरभिट्टा सडक खण्डमा भएको हो । काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह.७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरको वन कार्यालयको बागमती प्र.०१–००२ झ ७३६० नम्बरको स्कार्पियो गाडी आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी उराउको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि फरार रहेको स्कार्पियो गाडीलाई मेचीनगर ४ बाहुनडाँगीबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले गाडी चालक भद्रपुर-१० का ५४ वर्षीय लीला श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ ।

सिटी सफारी चालक मेचीनगर-६ बस्ने ४५ वर्षीय गम्भीरप्रसाद बाँतर र सिटी सफारी प्रहरी चौकी ज्यामिरगढीको नियन्त्रणमा रहेको छ ।





