२०८३ भदौ २ मंगलबार
Jhapa Today
Adv top

झापामा बढ्दै वित्तीय अपराध, एक वर्षमा १५५ पक्राउ


बिर्तामोड, साउन ४ । झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन् ।

तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् । घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार फरार अभियुक्तहरूको खोजीलाई पनि तीव्र बनाइएको छ । झापामा सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये २२० वटा फछ्र्योट भएका छन् भने ७४ वटा मुद्दा बाँकी छन् । त्यस्तै, ठगीका ६५ वटा मुद्दामध्ये ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा रहेका छन् ।

आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकामा आठवटा फर्छ्योट भएका छन् भने चारवटा बाँकी छन् । सट्टेबाजी (अनलाइन वेटिङ) सम्बन्धी दुईवटा मुद्दा दर्ता भएकामा दुवै फर्छ्योट भइसकेका छन् ।

पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी, अनलाइन किनमेल, चिठ्ठा परेको र घरबाटै काम गरेर आम्दानी हुनेजस्ता प्रलोभन देखाएर हुने ठगीका घटना बढिरहेका छन् ।

अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न र छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Adv footer