
बिर्तामोड, साउन ४ । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव भएको छ । आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्छ । हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ ।

त्यसैगरी, करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ । “धानबालीको मुख्य समयमा आवश्यक मात्रामा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन् । यसले बोटको वृद्धि र उत्पादन दुवैमा असर पार्ने जोखिम बढाएको छ”, प्रमुख विष्टले बताए ।

उनका अनुसार मल अभावकै कारण धेरै कृषकले अग्र्यानिक (जैविक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरूमा अग्र्यानिक मलप्रति कृषकको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि उनीहरू अझै पनि रासायनिक मलमै बढी निर्भर छन् ।

झापाको गौरादह–५ का कृषक राजेन्द्र अधिकारीले भने, “रोपाइँ त सकियो तर मल नपाएपछि खेतको हरियाली कसरी जोगाउने भन्ने चिन्ता छ । समयमै मल नपाए उत्पादन घट्ने डर सबै कृषकमा छ ।”

हालसम्म झापामा ६१ दशमलव आठ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । कृषकले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।





