२०८३ भदौ २ मंगलबार
Jhapa Today
Adv top

खुला प्रतिस्पर्धाबाट छनोट भएका प्रधानाध्यापक कटुवालको पदस्थापन


बिर्तामोड, साउन ५ । बाह्रदशी गाउँपालिकाले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत छनोट गरेका प्रधानाध्यापकमध्ये गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालको औपचारिक पदस्थापन गरिएको छ ।

पदस्थापनसँगै विद्यालयको नयाँ व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघ ‘पिटिए’ पनि गठन गरिएको छ । बाह्रदशी–७ डाँगीबारीस्थित विद्यालयमा आयोजित कार्यक्रममा बाह्रदशी ७ का कार्यवाहक अध्यक्ष फेदुलाल राजवंशीले नवनियुक्त प्रधानाध्यापक कटुवाललाई पदस्थापन गराए ।

कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत तथा बधाईसमेत दिइएको थियो । यसैबीच, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सागर माझी चयन भएका छन् ।

समितिको सदस्यमा शान्ति राजवंशी, विष्णु राजवंशी र मन्सा मुर्मु रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले सम्हाल्नेछन् ।

त्यस्तै, अभिभावक–शिक्षक संघ ‘पिटिए’ मा अनिता लुवागुन, इन्द्रवती राजवंशी, गायत्रा चापागाईं, मिरा सुवेदी, विष्णु अधिकारी र अरुण कामते चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका जग्गादाता राजु राजवंशी, पूर्वअध्यक्ष इन्द्रबहादुर राई, विद्यालय व्यवस्थापन समितिका लेखा संयोजक नारायण लम्साल, फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक हेम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका रुपाकुमारी राईले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शिक्षक लोचनकुमार गुरागाईंले गरेका थिए ।

बाह्रदशी गाउँपालिकाले हालै प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२ अनुसार खुला प्रतिस्पर्धाबाट १६ जना प्रधानाध्यापक छनोट गरी करार सम्झौतासहित नियुक्तिपत्र प्रदान गरेको थियो ।

शैक्षिक योग्यता, तालिम, कार्यअनुभव, विद्यार्थीको नतिजालगायतका सूचकका आधारमा गरिएको छनोटलाई सामुदायिक विद्यालयमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तरीय नेतृत्व विकासतर्फको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ ।

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका कटुवालको गौरीशंकर माध्यमिक विद्यालयमा भएको पदस्थापनलाई गाउँपालिकाले लागु गरेको नयाँ प्रधानाध्यापक छनोट प्रणालीको व्यावहारिक कार्यान्वयनका रूपमा समेत लिइएको छ ।

Adv footer