२०८३ भदौ २८ आइतबार
Jhapa Today
Adv top

हल्दिबारीकी राजवंशीको जापानिज इन्सेफलाइटिसबाट मृत्यु


बिर्तामोड, साउन १० । झापाको हल्दिबारीकी एकजना महिलाको लामखुट्टेको संक्रमणबाट हुने जापानिज इन्सेफलाइटिसका कारण उपचारका क्रममा मृत्यु भएको छ ।

संक्रमण गम्भीर अवस्थामा पुगेकी झापा हल्दिबारी गाउँपालिका–२ कदमचोककी प्रमिलाकुमारी राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत राजवंशीको अवस्था जटिल बन्दै गएपछि हिजो साँझ मृत्यु भएको हो ।

क्युलेक्स प्रजातिको सेतो लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएपछि उनलाई तीन दिनअघि प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरिएको थियो ।

प्रमिला हल्दिबारीमा सामाजिक क्षेत्रमा क्रियाशील महिला थिइन् । उनको आज स्थानीय देउनिया पाराखोपीस्थित विश्रान्ति घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

झापामा यसअघि २०८१ असोज ५ गते दमक-३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो । गत वर्ष भद्रपुर, गौरीगञ्ज, दमक यो संक्रमणबाट प्रभावित बनेका थिए ।

Adv footer