
बिर्तामोड, साउन १० । जापानिज इन्सेफलाइटिस (जेई) भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठुलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझै पुरानो छ ।

‘सन् १९७८ तिर रुपन्देहीमा संक्रमण भएको देखिन्छ । त्यतिबेला प्रमाणित गर्ने प्राविधिक सुविधा थिएन, तर लक्षणहरूका आधारमा जेई नेपालमा देखिएको अनुमान लगाइएको छ,’ डा. गौतम भन्छन् । सन् २००३ देखि आधिकारिक परीक्षण सुरु भयो । त्यसबेला ढाडबाट पानी र रगतको नमुना परीक्षणमार्फत जेई संक्रमण पुष्टि भयो ।

लक्षण
कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइ÷इस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ । बाँकी २० देखि ३० प्रतिशतको हाराहारीमा बिरामी भने पूर्ण रूपमा निको हुने गर्छन् ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुन्छ ।

यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर, सबै संक्रमितमा लक्षण देखिँदैन । धेरैलाई सामान्य रूपमा संक्रमण भएर निको हुन्छ । डेंगु तुलनामा केस संख्या कम देखिने भए पनि मृत्यु दर भने उच्च रहने विज्ञ बताउँछन् ।
यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ । डा. गौतमका अनुसार जापानिज इन्सेफलाइटिस प्रायः धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।
‘धानखेतमा पानी जम्मा हुने भएकाले लामखुट्टे प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाइदिन सक्छन्,’ डा. गौतम भन्छन् ।
उनका अनुसार संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस ती जनावरभित्र तीव्र रूपमा बढ्छ । त्यही भाइरस अर्को लामखुट्टेमा सरेपछि फेरि मानिसलाई पनि संक्रमित गर्नसक्छ । तर मानिसभित्र भने भाइरस त्यति धेरै गुणा बढ्दैन, जसका कारण मानिसबाट अर्को मानिसमा संक्रमण सर्दैन ।
डा. गौतमले कृषि क्षेत्रसँग आबद्ध समुदायलाई विशेष सतर्क रहनुपर्ने बताए । उनका अनुसार पछिल्ला तथ्यांकले ७० प्रतिशत संक्रमित कृषिमा संलग्न वा धानखेती तथा पशुपालन गर्ने वर्गका व्यक्तिहरू हुने देखाएको छ ।
विशेषगरी यो भाइरसबाट १५ वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुने गर्छन् । अधिकांश संक्रमितमा लक्षण सामान्य वा देखिँदै देखिँदैन । तर, २५० संक्रमितमध्ये एकजनामा भने लक्षणले कडा रूप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ ।




