
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा यामाहाको सहकार्यमा ‘एटिट्युड भर्सेस अल्टिच्युड’ भन्ने नयाँ अवधारणासहित हिमालय रोडिज सिजन–८ का लागि प्रि–अडिसन भएको छ ।

कार्यक्रमका टाइटल स्पोन्सर यामाहा रेसिङले माउन्टेन ड्युसँगको सहकार्यमा आज बिर्तामोडमा प्रि–अडिसन भएको हो । अडिसनमा बिर्तामोड आसपासका एक सयजनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

प्रि–अडिसनमा छनोट हुने सहभागीले ‘ब्लु टिकट’ प्राप्त गर्नेछन् । यस टिकटमार्फत उनीहरूले रोडिजको पर्सनल इन्टरभ्यु (पिआई) राउन्ड मा सिधै प्रवेश गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

यामाहा रेसिङका अनुसार प्रि–अडिसन यामाहा सोरुम सयपत्री ट्रेड लिंकमा सञ्चालन भएको हो । ‘हिमालय रोडिज’ युवाको साहस, मानसिक दृढता, सहनशीलता र चुनौती सामना गर्ने क्षमताको परीक्षा लिने चर्चित रियालिटी शो हो ।

यस वर्षको ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिमले हिमाली भूगोलका चुनौतीसँग जुध्ने आत्मविश्वास र आफ्नो सीमाभन्दा माथि उठ्ने सोचलाई प्राथमिकता दिएको जनाएको छ ।

यामाहा रेसिङले नेपालमा युवाकेन्द्रित विभिन्न अभियान र कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै रोडिजसँगको सहकार्य पनि त्यसैको निरन्तरता भएको जनाएको छ । कम्पनीका अनुसार यो अभियान यामाहाको ‘द कल अफ द ब्लु’ ब्रान्ड सन्देशसँग पनि मेल खान्छ ।




