
बिर्तामोड, भदौ १ । झापाको शिवसताक्षी ११ माईधार स्थायी घर भई हल काठमाडौँको मित्रनगर बस्दै आएका नविन रायको अपहरण सामाजिक सञ्जालबाट चिनजानपछि डिजिटल कारोबारको विषयलाई लिएर कलंकीस्थित एक क्याफेमा बोलाएर गरिएको थियो ।

साउन २८ गतेको यो घटना प्रहरीले पाँच घण्टामै सुल्झाउन सफल भयो । छग्डोलस्थित भाडाको घरमा लगेर रायलाई हातखुट्टा बाँधेर बन्धक बनाइएको थियो । रायका परिवारसँग फिरौतिबापत १८ लाख रुपैयाँ मागिएको थियो । प्रहरीले अपहरणकारीको फरकफरक भूमिका समेत फेलापारेको छ । घटनाको सुरुवात रामेछापका मनोज बुढाथोकीको सामाजिक सञ्जालमार्फत भारतका रोहित नाम गरेका व्यक्तिसँग भएको चिनजानबाट भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

मनोज र रोहितबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । रोहितले डलर कार्डमा रकम लोड गरिदिने र डलरको भाउ बढी दिने भन्दै मनोजलाई डिजिटल कारोबारका लागि प्रोत्साहित गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धानअनुसार रोहितले मनोजलाई ट्रस्ट वालेट एप डाउनलोड गर्न लगाएका थिए । उक्त एपमार्फत रकमसम्बन्धी कारोबारसमेत भएको थियो । यही क्रममा १८ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको विवरण प्रहरीले फेला पारेको जनाएको छ ।

त्यसपछि घटनाले नयाँ मोड लिएको प्रहरी अनुसन्धानमा उल्लेख छ । रोहितले ‘सहयोगका लागि मान्छे आउँछ’ भन्दै नविन रायलाई काठमाडौँको कलंकीस्थित भेटघाट क्याफेमा बोलाएका थिए ।

नविन क्याफेमा आउने भएपछि मनोज बुढाथोकीले उनको निगरानीका लागि अर्घाखाँचीका प्रदिप पोखरेललाई मोटरसाइकलमा पठाएका थिए । प्रदिप क्याफेमा पुगे । नविन त्यहाँ आएको पुष्टि भएपछि मनोज आफैँ पनि क्याफेमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मनोजले थप सहयोगका लागि ओखलढुंगाका निमेष कार्की र काभ्रे भुम्लुका देवकुमार श्रेष्ठलाई पनि क्याफेमा बोलाए । क्याफेमा एकपछि अर्को व्यक्ति थपिँदै गए । नविन भने आफू अपहरणको योजनामा परेको विषयमा अनभिज्ञ थिए ।
प्रहरीका अनुसार क्याफेमा पुगेका व्यक्तिहरूले धारिलो हतियार देखाएर नविनलाई जबरजस्ती नियन्त्रणमा लिए । त्यसपछि उनलाई ट्याक्सीमा राखियो ।
प्रहरी अनुसन्धानअनुसार मनोजले दुईवटा मोटरसाइकलबाट ट्याक्सीलाई पछ्याउँदै नविनलाई नागार्जुन–५, छग्डोलतर्फ लगेका थिए । छग्डोल पुगेपछि नविनलाई एउटा भाडाको एकतले घरमा लगियो । त्यही घरमा उनलाई बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्धार गर्दा नविनको हातखुट्टा बाँधिएको र घोप्टो परेको अवस्थामा फेला पारेको थियो । उनलाई कुटपिटसमेत गरिएको प्रहरी विवरणमा उल्लेख छ ।
घटनामा मनोज, प्रदिप, निमेष र देवकुमारसँगै सर्लाही लालबन्दीका जेनिश चौधरी, चितवनका अमित ओली र मकवानपुरका निशान रुम्बा तामाङ पनि जोडिएका छन् ।
प्रहरी अनुसन्धानअनुसार चौधरी मनोज बुढाथोकीको मिलेमतोमा भाडामा लिइएको घरमा नविनलाई बन्धक बनाएर राख्ने कार्यमा संलग्न थिए ।
ओली मनोजलगायत अन्य व्यक्तिका साथी रहेको र बन्धक बनाएर राखिएको अवस्थामा नविनलाई कुटपिट गर्ने कार्यमा सहयोग गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।
तामाङ मनोजको कार्यालयमा काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी मनोजले भाडामा लिएको घरमा बस्दै आएका थिए । नविनलाई बन्धक बनाएर कुटपिट गरी राख्ने कार्यमा उनको समेत संलग्नता रहेको प्रहरी विवरणमा उल्लेख छ ।
प्रहरी अनुसन्धानअनुसार मनोज बुढाथोकीको भूमिका घटनाको योजनादेखि नविनलाई क्याफेमा बोलाउने, निगरानी गराउने र अन्य व्यक्तिलाई परिचालन गर्नेसम्म देखिएको छ । नवीनलाई भाडाको घरमा बन्धक बनाएपछि परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको थियो ।
छोरा अपहरणमा परेको र १८ लाख रुपैयाँ फिरौती मागिएको जानकारी पाएपछि परिवारले नेपाल प्रहरीको कन्ट्रोल रुम १०० मा फोन गरेको थियो । सूचना पाएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो करिब २ बजे घटनाबारे जानकारी पाएको थियो ।
त्यसपछि प्रहरीले नविनको खोजी सुरू गर्यो । प्रहरीले नविनको मोबाइलमा आएका लगातार फोन नम्बरको प्राविधिक विश्लेषण तथा ट्रेसिङ सुरू गरेको थियो । त्यसबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास गरिएको थियो ।
प्रहरीले पीडित परिवारलाई अपहरणकारीले मागेको १८ लाख रुपैयाँ दिन सहमत गराएको थियो । सोही क्रममा प्रहरी पीडित परिवारसँगै नविनलाई बन्धक बनाएर राखिएको घरसम्म पुगेको थियो ।
दिउँसो करिब २ बजे सूचना पाएपछि प्रहरीले साँझ करिब ६ बजेसम्ममा नविनलाई सकुशल उद्धार गरेको जनाएको छ । घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उद्धारका क्रममा नविनको हातखुट्टा बाँधिएको र घोप्टो पारेर राखिएको अवस्थामा भेटिएका थिए । घटनामा संलग्न भनिएका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको छ ।




