
बिर्तामोड, भदौ १ । आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थप कडा बनाउँदै आज सोमबारदेखि देशभर वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कामकारबाही बन्द गर्ने घोषणा गरेको छ ।

चरणबद्ध आन्दोलनमा रहेको संघले यसअघि पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकेको थियो । यसबीच जारी भइसकेको श्रम स्वीकृतिका आधारमा श्रमिकलाई विदेश पठाउन दिइएको समयसीमासमेत समाप्त भएपछि सोमबारदेखि श्रमिकको उडान पनि पूर्ण रूपमा बन्द गरिने संघले जनाएको छ ।

संघका महासचिव हिराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिअनुसार सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कामकारोबारसँगै श्रमिकको उडानसमेत बन्द हुनेछ । यससँगै वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले नयाँ श्रमिकको प्रक्रिया मात्र नभई प्रक्रिया पूरा गरेर उडानको चरणमा पुगेका श्रमिकलाई समेत प्रभावित गर्ने देखिएको छ ।

संघले आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको ‘निर्णायक अभियान’का रूपमा व्याख्या गरेको छ । आफ्ना मागबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कार्यान्वयन नभएकाले आन्दोलनको दायरा विस्तार गर्नुपरेको संघको भनाइ छ ।

यसअघि नै नयाँ वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुनेगरी विभिन्न काम रोकिएका थिए । अब उडानसमेत बन्द गर्ने निर्णय कार्यान्वयनमा आए वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया पूरा गरेर टिकट तथा यात्राको तयारीमा रहेका श्रमिक प्रत्यक्ष प्रभावित हुन सक्नेछन् ।

संघले भने सरकार तथा सम्बन्धित निकायसँग संवाद, समन्वय र वार्ताको ढोका बन्द नगरेको स्पष्ट पारेको छ । आफ्ना मागको ठोस सम्बोधन र कार्यान्वयनका लागि वार्ता गर्न तयार रहेको संघको भनाइ छ ।
तर, माग सम्बोधन भएको सुनिश्चित नभएसम्म जारी संघर्ष फिर्ता नलिने र स्थगितसमेत नगर्ने संघले अडान लिएको छ ।




