२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

बेरुजु उठाउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड


बिर्तामोड, भदौ २३ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघहरुलाई प्रदान गरेको रकम बेरुजु देखिएपछि फिर्ता गराउन थालेको छ ।

बोर्डका सदस्य सचिव विप्लव घोषले बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेल संघमार्फत उपलब्ध गराएको रकम लामो समयदेखि बेरुजु देखिन आएकाले फछ्र्यौट गराउन थालिएको जानकारी दिए ।

यसैबीच, कोशी प्रादेशिक क्रिकेट संघले बोर्डलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ । संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनोट खेल तथा तयारीका लागि प्राप्त गरेको ६ लाख रुपैयाँ बेरुजु देखिएकोले उक्त रकम फिर्ता गरेको हो ।

बोर्डबाट आर्थिक वर्ष २०८०÷८१ मा प्राप्त उक्त ६ लाख रुपैयाँ बेरुजु देखिँदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खातामा रकम जम्मा गर्दै बेरुजु फछ्र्यौट गरिदिन बोर्डमा निवेदन समेत दर्ता गराएको छ ।

घोषले खेल क्षेत्र र खेलाडीमाथि लगानी गरिएको रकम विभिन्न कारणले बेरुजु देखिँदा त्यसले समग्र खेल क्षेत्रमाथि प्रश्न उठ्ने भन्दै बेरुजु रकम फछ्र्यौट गर्न आवश्यक पहलकदमी लिएको जानकारी दिए ।

यसअघि बोर्डले यसै आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुलउपर गर्नुपर्ने ८ लाख रुपैयाँ समेत असुल गरिसकेको छ ।

त्यस्तै, जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नाममा हिनामिना भएको २५ लाखभन्दा बढी रुपैयाँ असुल गर्नका लागि आवश्यक कानुनी प्रक्रिया समेत थालेको छ ।

Adv footer