२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

मलेसिया रोजगारीमा २५ मुख्य म्यानपावरमाथि छानबिन


बिर्तामोड, भदौ २८ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन र भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको छ ।

विभागले ती संस्थालाई आफू प्रणालीबाट बाहिरिएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्न र नयाँ रूपमा आबद्ध नहुनसमेत भनेको छ । त्यस्तै, मुख्य संस्थाका ‘आबद्ध’ वा ‘सहयोगी संस्था’ का रूपमा सूचीकृत २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया हाललाई रोक्का गरिएको छ ।

विभागले २५ मुख्य संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अपनाइएको प्रक्रियाबारे छानबिन थालेको जनाएको छ । २५० संस्थासँग पनि प्रणालीमा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको छ ।

छानबिन पूरा नहुँदासम्म २५० संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन पाउने छैनन् । तर, उक्त रोक्का नयाँ पूर्वस्वीकृतिमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ । यसअघि नै वैदेशिक रोजगारीका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिइसकेका श्रमिकको रोजगारीमा जाने प्रक्रियामा भने कुनै असर नपर्ने जनाइएको छ ।

विभागले निष्पक्ष प्रतिस्पर्धा सङ्कुचित गर्ने कुनै पनि संरचनामा आबद्ध नहुन सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । श्रमिक छनोट तथा वैदेशिक रोजगार व्यवसायमा समूहगत नियन्त्रण वा एकाधिकार कायम गर्ने गतिविधि नगर्नसमेत भनिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ बमोजिम जारी निर्देशन उल्लङ्घन भएमा ऐनको दफा ५४ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ । कानुनअनुसार इजाजतपत्र रद्दसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा कायम गर्दै सबै इजाजतपत्रप्राप्त संस्थालाई समान अवसर सुनिश्चित गर्ने जनाएको छ । छानबिनका क्रममा गैरकानुनी आर्थिक कारोबार, कानुनविपरीत संलग्नता वा प्रतिस्पर्धा सीमित गर्ने गतिविधि पुष्टि भए आवश्यक कानुनी कारबाही गरिने सरकारको भनाइ छ ।

यसैबीच, मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी समस्या दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ । नेपालले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित, प्रतिस्पर्धी र निर्बाध बनाउँदै सुरक्षित, मर्यादित तथा न्यायोचित वैदेशिक रोजगारी सुनिश्चित गर्न पहल गरिरहेको जनाएको छ ।

Adv footer