
बिर्तामोड, भदौ २८ । झापाको अर्जुनधारा–११ मा रहेको देउनिया खेल मैदानमा “प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता“ आयोजना हुने भएको छ ।

स्थानीय मिलडाँडा युवा क्लब अर्जुनधारा–११ को आयोजनामा असोज १७ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामार्फत स्थानीय समुदायमा आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति समुदायलाई प्रेरित गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा झापाका सात र पाँचथरको एक गरी आठवटा भेट्रान्स फुटबल क्लबको सहभागिता रहनेछ । भद्रपुर, शिवसताक्षी, मेचीनगर, बिर्तामोड क्षेत्रका टिमले आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडले ५ हजार रुपैयाँ र ट्रफी पाउँदा विधागत खेलाडीलाई तीन हजार पाँच सय रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ९० हजार २२२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ ।




