२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा जिउँदै जलाउने दुष्प्रयासः अमृत भोगमा सँगै काम गर्दा आर्थिक लेनदेन कारण


बिर्तामोड, असोज १४ । झापाको बिर्तामोडमा असोज १२ गते राति एउटा भयंकर दुर्घटना ‘बालबाल’ ले हुनबाट जोगियो । आर्थिक लेनदेनका कारण एकजना भारतीय पुरुषले नेपाली युवतीलाई राति अबेर जिउँदै आगो लगाउने दुष्प्रयास गरे । तर, भाग्यवश दुर्घटना हुन पाएन ।

भारतको किसनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिपचन्द्र राय र इलामको रोङ-३ घर भएकी २२ वर्षीया रविना मगर बिर्तामोडमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्थे । हाल रविना अमृत भोग छोडेर लोटस बारमा काम गर्छिन् भने दिलिपचन्द्र अमृत भोगमै कार्यरत थिए ।

सोमबारको राति दिलिपचन्द्र रविना बसेको डेरामा पुग्छन् । रविनाले ढोका खोल्छिन् । उनीहरुबीच केहीबेर गफ हुन्छ । गफकै सिलसिलामा दिलिपचन्द्रले रविनासँग आफूले पहिला दिएको रकम माग्छन् । रविनाले इन्कार गरेपछि दिलिपचन्द्रले थप्पड लगाउँछन् । मुक्का हान्छन् । दिलिपचन्द्रले रविनालाई ७० हजार रुपैयाँ दिएको दाबी गरेका छन् ।

प्रहरीका एकजना अनुसन्धान अधिकृतका अनुसार राति उनी रविना बस्दै आएको बिर्तामोड ५ को एक घरमा पेट्रोल बोकेरै गएका थिए । विवादपछि दिलिपचन्द्रलले तन्ना च्यातेर रविनाको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्किएका थिए । तर, लाइटर नबलेपछि दुर्घटना हुन पाएन ।

दिलिपचन्द्र मादक पदार्थ सेवन गरेर रविनाको डेरामा पुगेका थिए । उनले पटकपटक लाइटर बाल्ने कोसिस गरिरहँदा रविना चिच्याएकी थिइन् । ठुलो स्वरमा गुहार मागेपछि रविनाका घरधनीलगायले ढोका फोडेका थिए । र, उनी बाँचेकी थिइन् ।

त्यसपछि उनीहरुले राति नै प्रहरीलाई खबर गरे । दिलिपचन्द्रलाई प्रहरीले पक्रउ गरेर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुबीचको विवादको कारण आर्थिक लेनदेन मात्रै हो या अरु नै सम्बन्धका बारेमा पनि सूक्ष्म अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रविनाको बिर्तामोडको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

Adv footer