२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

बुद्धशान्तिका २६ जना अव्यवस्थित बसोबासीले पाए लालपुर्जा


बिर्तामोड, असोज १४ । झापाको बुद्धशान्ति ४ जुनेली बस्तीका २६ जना अव्यवस्थित बसोबासीले हिजो मंगलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरेको हो ।

पुर्जा वितरण कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष शेरबहादुर रायले भूमि प्राप्तिको सङ्घर्ष लामो र निरन्तर रहेको बताए । उनका अनुसार स्थानीय तहको पहिलो निर्वाचनदेखि नै वडाका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

उनले लालपुर्जा केवल जग्गाको स्वामित्व प्रमाणित गर्ने कागज मात्र नभई पुस्तौँदेखि रहँदै आएको असुरक्षाको अन्त्य भएको बताए । गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार आवश्यक रहेको बताए ।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पटकपटक आयोग परिवर्तन हुँदा भूमि समस्या समाधानको काम प्रभावित हुँदै आएको बताए । उनले बाँकी रहेका वास्तविक लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

गाउँपालिकाका भूमि शाखा प्रमुख देवेन्द्र कटुवालका अनुसार पालिकाले विभिन्न चरणमा लालपुर्जा वितरण गरेको थियो । उनका अनुसार २०७९ असारमा ४२, २०८२ असारमा १४८ र २०८३ असारमा पाँच भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

पालिकाभित्र अझै १४८ भूमिहीन सुकुम्बासी, ३१ भूमिहीन दलित र छ हजार २२३ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका अर्जुनधारा, कनकाई र मेचीनगरमा लालपुर्जा वितरणको काम निरन्तर भइरहेको छ । अन्य स्थानीय तहमा पनि प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

Adv footer