
बिर्तामोड, असोज १६ । यो वर्षको दसैँमा सिमसिमे खालको पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दसैँसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको छ ।
नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा रहेको छ । यस वर्षको मनसुन गत ५ असारमा पूर्वी नेपालबाट भित्रिएको थियो । मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठुलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन । छिमेकी मुलुक भारतका अधिकांश भू–भागबाट मनसुन बाहिरिसकेको छ ।
नेपालमा पनि अब पश्चिमी भू–भागबाट मनसुन बाहिरिने तरखर छ । ‘अहिलेसम्मको संकेत हेर्दा दसैँसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन् ।
यस वर्षको दसैँको घटस्थापना असोज २५ र टिका कात्तिक ४ गते परेको छ । सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु भई अक्टोबर २ मा बाहिरन्छ । यो औसत मितिमा कहिलेकाहीँ सामान्य तलमाथि पनि हुने गरेको छ ।
यद्यपि मनसुन बाहिरिए पनि सामान्य खालको वर्षा भने दसैँका बेला पनि हुनसक्ने सम्भावना रहेको मौसमविदहरू बताउँछन् ।






