२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

कोशी प्रदेशमा आज दिनभर बादल लाग्ने, हल्का वर्षाको सम्भावना


बिर्तामोड, असोज १८ । कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा भने पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापाका विभिन्न भूभागमा हिजो साँझ केहीबेर हल्का वर्षा भएको थियो भने आज बिहान लगातार ३ घण्टासम्म मध्यम वर्षा भएको थियो । लगातारको वर्षाले केही ठाउँ डुबानमा परेका छन् ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी र तराई भूभागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा बिहानीपख हुस्सु पनि लाग्नेछ ।

मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का तथा सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Adv footer