
बिर्तामोड, असोज १८ । झापाका चिया प्रशोधन उद्योगहरुले उत्पादन गरेको चियामा स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने कृत्रिम रंग मिसावट भएको पाइएको छ । ती चियाका प्याकेटहरु फिर्ता गर्न निर्देशन दिइएको छ ।
टि प्रोसेसिङ उद्योगहरुको उत्पादनमा कृत्रिम रंग मिसावट भएको पाइपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित व्यवसायीलाई उक्त चिया बजारबाट फिर्ता (रिकल) गर्न ठाडो निर्देशन दिएको छ ।
विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा कृत्रिम बाह्य रंगको मिसावट भएको पाइएको जनाएको छ । विभागका अनुसार परीक्षणका क्रममा आर्टिफिसियल फुड कलर सेंथेटिक (टाट्र्राजिन सनसेट यल्लो) कृत्रिम खाद्य रंग मिसाइएको भेटिएको हो ।
विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा बुटवलको साई कृपाको चियामा अखाद्य कृत्रिम रङ मिसावट भएको प्रमाणित भएपछि थप अनुसन्धान अघि बढाउँदै सबै उत्पादन रोक्का राखेको हो । साई कृपाले झापाका उद्योगबाट खुला चिया खरिद गरेर प्याकेजिङ गरेर बजारमा बिक्री गर्दै आएको छ ।
विभागले गत असोज ८ गते नै सम्बन्धित व्यवसायीलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको जनाएको छ । साथै, सोही उद्योगबाट उत्पादित अन्य उत्पादनलाई समेत रोक्का राखी थप अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।
यसैबीच, साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले नेपाल चिया उत्पादक संघलाई पत्र पठाउँदै आफ्नो उत्पादनको गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ । उद्योगले ‘साई कृपा गोल्ड टि’ १००० ग्राम, ब्याच नम्बर ८३ डि ०५, उत्पादन जुलाई २०२६ को चियामा कृत्रिम खाद्य रंग मिसावट भएको सम्बन्धमा विभागबाट जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।
उद्योगले उक्त विषयमा आफूले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाउँदै चियाको गुणस्तर कायम राख्न तथा कुनै पनि किसिमको मिसावट नगर्न मातहतका उत्पादक संघ तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने चियामा कृत्रिम बाह्य रंग मिसाउने वा अन्य कुनै किसिमको मिसावट गर्ने कार्य नगर्न सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री वितरकलाई सचेत गराएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ । विभागको सूचनामा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बजारमा रहेका सम्बन्धित ब्याचका उत्पादनको अवस्थाबारे थप अनुसन्धान भइरहेको उल्लेख छ ।






