
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोडमा असोज १७ गतेदेखि सुरु गरिएको ‘चिनो वेयरहाउस सेल’ बन्द गर्न स्थानीय व्यवसायीले वाणिज्य संघलाई दबाब दिएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले चिनोको सेल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
तर, नेपाली कपडा उद्योगमा ब्रान्ड बन्दै आएको चिनोले आफूहरुले राज्यका निकायबाट अनुमति लिएर सेल सुरु गरेको जनाएको छ । संघबाट आएको दबाबप्रति चिनो व्यवस्थापनले असन्तुष्टि समेत व्यक्त गरेको छ ।
चिनोका संस्थापक नवराज बजगाईंले बजार परीक्षणका लागि चार दिने कार्यक्रम लिएर बिर्तामोड आएको जनाउँदै त्यसलाई रोक्न खोजिएकोप्रति असन्तुष्टि जनाएका हुन् । बजगाईंले सेल बन्द गर्नुपर्ने भए स्पष्ट मापदण्ड र लिखित सूचना दिनुपर्ने बताएका छन् ।
दसैँ, तिहार र छठको मुख्य व्यापारिक समयमा बाहिरबाट आएको व्यवसायले अस्थायी बिक्री केन्द्र सञ्चालन गर्दा नियमित व्यवसाय प्रभावित हुने भन्दै स्थानीय व्यवसायीले विरोध गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा सेल सञ्चालक, चिनो व्यवस्थापन र व्यवसायीबीच छलफल समेत भएको थियो । छलफलमा स्थानीय व्यवसायीले सेल बन्द गर्न माग गरेका थिए । संघले समेत सेल बन्द गर्न दबाब दिएको थियो ।
चिनो व्यवस्थापनका अनुसार सेल सञ्चालनअघि जिल्ला प्रशासन कार्यालय, सम्बन्धित वडा र नगरपालिकासँग आवश्यक अनुमति लिइएको थियो । सोही कारण सेल सञ्चालन भइरहेको छ ।
बजगाईंले आफूहरू स्थानीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभई झापाको बजार सम्भावना बुझ्न आएको बताए । उनका अनुसार झापा आउनुअघि सहकार्यका लागि करिब २ हजार व्यवसायीलाई पत्राचार गरिएको थियो ।
‘झापाले वेलकम गर्ला भन्ने थियो । वाणिज्य संघले पनि रेस्पेक्ट गर्ला भन्ने आशा राखेका थियौँ,’ उनले भने, ‘तर व्यवसाय क्षेत्रका साथीहरूले जुन किसिमको असन्तुष्टि व्यक्त गर्नुभयो, त्यो चित्तबुझ्दो देखिएन ।’
सेल बन्द गर्न दबाब दिइएपछि बजगाईंले लिखित प्रक्रियाको माग गरेका छन् । ‘म कुनै फ्रड गरेर हिँड्ने पक्षमा छैन । संघले क्राइटेरिया तोकेर लिखित नोटिस दिनुपर्छ । त्यो नोटिस जेनजी कम्युनिटीमा टाँसेर सेल बन्द गरेर हिँड्छु,’ उनले भने । ठुलो रकम बाहिरिने जस्तोगरी सेलको विषयलाई प्रचार गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।






