२०८३ असोज २३ शुक्रबार
Jhapa Today
Adv top

आजबाट २-३ दिन पानी पर्ने सक्ने, झापामा पछिल्लो १२ घन्टामा भारी वर्षा


बिर्तामोड, असोज १८ । झापामा पछिल्लो १२ घन्टामा भारी वर्षा मापन भएको छ । झापाुसहत पूर्वी नेपालमा भारी वर्षा भएको हो । झापाको शनिश्चरेमा पछिल्लो १२ घन्टामा ६८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

अनारमनी बिर्तामा ३३.२ मिलिमिटर, दमकमा ३५.६ मिलिमिटर वर्षा भएको छ । झापाका अधिकांश भूभागमा हिजो साँझ र आज बिहान ३ घण्टा लगातार वर्षा भएको थियो । बागमती र गण्डकी विभिन्न भूभागहरूमा हल्का वर्षा मापन भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो ।

मनसुन बाहिरिने क्रम सुरू भए पनि कोशीबाट अझै मनसुन बाहिरिएको छैन । त्यसको प्रभाव कायमै छ । सँगै पूर्वी नेपालमा विशेषगरी कोशी प्रदेश आसपास आसामतिर रहेको न्यूनचापीय प्रणाली र त्यसको वरिपरिको वायुमण्डलीय प्रभावका कारण वर्षा भएको हो ।

विभागका अनुसार मनसुनी वायु पूर्ण रूपमा देशभरबाट बाहिरिनसकेकाले त्यसको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसो र साँझपख बादल लाग्ने तथा केही समय वर्षा हुने क्रम अझै रहनेछ ।

अबको एक–दुई दिन लगातारको झरी भने नहुने तर दिउँसोदेखि साँझसम्म केही समय वर्षा हुन सक्नेछ । केही स्थानमा स्थानीय वायु र स्थानीय प्रणालीका कारण आइसोलेटेड रूपमा भारी वर्षा हुन सक्ने भए पनि ठ्याक्कै कुन ठाउँमा भारी वर्षा हुन्छ भनेर अहिले नै निर्धारण गर्न कठिन रहेको विभागको भनाइ छ ।

Adv footer