
बिर्तामोड, असोज १९ । भोटेकोशी बाढी प्रभावितका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले एक करोड आठ लाख ३० हजार ४३५ रुपैयाँ सहयोग जुटाएको छ ।
झापाका सदस्य विद्यालयमार्फत सहयोग रकम संकलन गरिएको हो । विद्यालय सञ्चालकसँगै शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकबाट सो रकम संकलन गरिएको हो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार सदस्य विद्यालयबाट संकलित ९५ लाख ४३ हजार २९ रुपैयाँ प्याब्सन झापाको बैंक खातामा जम्मा भएको थियो । त्यसमध्ये पहिलो चरणमा ७५ लाख ९३ हजार ९४७ रुपैयाँ र दोस्रो चरणमा १९ लाख ४९ हजार ८२ रुपैयाँ जम्मा भएको सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
केन्द्रको निर्देशनअनुसार ८९ हजार रुपैयाँ प्याब्सन केन्द्रीय कार्यसमितिको राहत कोषमा जम्मा गरेको छ । सदस्य विद्यालयहरूले आफ्नै तर्फबाट प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा ११ लाख ९८ हजार चार सय ६ रुपैयाँसमेत जम्मा गरेका छन् ।
प्याब्सन झापाको खातामा संकलित रकम, केन्द्रीय राहत कोषमा पठाइएको रकम र सदस्य विद्यालयहरूले प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा जम्मा गरेको रकमसमेत जोड्दा एक करोड आठ लाख ३० हजार ४३५ रुपैयाँ सहयोग जुटेको छ ।



