
बिर्तामोड, असोज २० । झापाको दक्षिणी भारतीय सीमा कचनकवलबाट सशस्त्र प्रहरीले सुनसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । उनीहरु असोज १७ गते साँझ पक्राउ परेका हुन् ।
कचनबवल गाउँपालिका–५ पाठामारी सीमा क्षेत्रबाट १२.७७० ग्राम सुनसहित उनीहरुलाई भारतबाट आउँदै गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ओमबाबु कर्मकार र पछाडि सवार भारतको किशनगञ्ज निवासी मनोज कर्मकार छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी पाठामारीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ८ प ८८३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सुनको ढिक्का बरामद गरेको हो ।
बरामद सुन तथा मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर हिजो भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद १२.७७० ग्राम सुनको मूल्य ३ लाख १९ हजार ६८७ रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ कायम गरिएको छ ।



