२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा मोन्ट्रा सुपर अटोको बिक्री सुरु, मूल्य ८ लाख ८५ हजार


बिर्तामोड, असोज २२ । झापाको बिर्तामोडमा मोन्ट्रा ब्रान्डको तीनचक्के विद्युतीय अटोको बिक्री सुरु भएको छ । साम्रे भेञ्चर्सले झापामा मोन्ट्राको सुपर अटो बिक्री गर्न सुरु गरेको हो ।

भेञ्चर्सले मोन्ट्रा ब्रान्डको अटोको रोड सो समेत गरेको छ । भारतमा उत्पादित सो अटोको नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको कम्पनीले जनाएको छ । नेपालमा मोन्ट्रा सुपर अटोको आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ हो ।

कम्पनीले नेपाली बजारको आवश्यकता र यहाँको भौगोलिक अवस्थालाई ध्यानमा राखेर सुपर अटो विकास गरिएको जनाएको छ । सुपर अटोमा ९ किलोवाटको ब्याट्री तथा पिएमएसएम मोटर जडान गरिएको छ ।

यसले ६० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । पूर्ण चार्जमा करिब १६० किलोमिटरसम्म चल्न सक्ने यो अटोको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको साम्रे भेञ्चर्सका सेल्स हेड सुजन नेपालले जानकारी दिए । ब्याट्री पूरा चार्ज हुन करिब ४ घण्टा ३० मिनेट लाग्ने जनाइएको छ ।

नेपाली सडकको उकालो–ओरालोलाई लक्षित गरी अटोमा ३२ प्रतिशतसम्मको ग्रेडेबिलिटी र हिल होल्ड असिस्ट प्रविधि राखिएको छ । चालकले सडक तथा आवश्यकताअनुसार विभिन्न ड्राइभिङ मोडसमेत प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा मोन्ट्रा सुपर अटोको मूल्य ८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले विद्युतीय सवारीको प्रयोगबाट इन्धन तथा नियमित मर्मतसम्भार खर्च घटाउन सकिने र यसले अटो चालकको सञ्चालन लागत कम गर्न सहयोग पुग्ने जनाएको छ ।

नेपालमा बिक्री तथा बिक्रीपछिको सेवा प्रभावकारी बनाउन डिलर, स्पेयर पार्टस् र सर्भिस नेटवर्क विस्तार गरिएको सोरुम सञ्चालक रोनल मित्तलले जानकारी दिए । मित्तल र अनुस्थान थापाको साझेदारीमा बिर्तामोडको सो रुम सञ्चालनमा आएको हो ।

सार्वजनिक यातायात तथा छोटो दूरीको यात्रामा विद्युतीय अटोको प्रयोग बढिरहेको अवस्थामा नयाँ ब्रान्डको प्रवेशले नेपाली तीनचक्के बजारमा थप विकल्प थपिएको छ ।

Adv footer