२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

सालबारी-मिलडाँडा भेट्रान्स फुटबलको फाइनलमा आयोजक


बिर्तामोड, असोज २२ । आयोजक सालबारी–मिलडाँडा भेट्रान्स फुटबल क्लब झापाको अर्जुनधारा ११ मा जारी प्रथम सालबारी-मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल पुगेसँगै उसले कम्तिमा ३१ हजार रुपैयाँ पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा आयोजकका विनोद बान्तवाले ३५औँ र ४१औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा बान्तवाले गरेको चिप सट गोलरक्षकको हातमा टच हुँदै गोलमा परिणत भएको थियो ।

बिर्तामोडका युगलकिशोर राईले ४५औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन नसक्दा आयोजक २–१ ले विजयी भएको हो । खेलको प्लेयर अफ द म्याच आयोजक टोलीका विनोद बान्तवा भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

फाइनलमा आयोजकले चारपाने युनाइटेड भेट्रान्स क्लबको सामना गर्नेछ । चारपानेले यसअघि झिलझिले भेट्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

असोज २४ गते हुने फाइनलको विजेताले नगद ५१ हजारसहित ट्रफी प्राप्त गर्नेछ । विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

Adv footer