२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

बेमौसमी वर्षाः धमाधम धान भित्र्याउँदै झापाका किसान


बिर्तामोड, कात्तिक १२ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम बदली भइ वर्षा हुने चेतावनी दिएपछि झापाका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ । बेमौसमी वर्षाले धान भिजाउने र कुहाउने डरले किसान थप श्रमिक खोजेर तथा सामुहिक रूपमा बाली भित्र्याउन जुटेका हुन् ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ ।

वर्षाले धान भिजाउला भन्ने त्रासका कारण बाहिरबाट खेताला मगाएर धान भित्र्याउन थालिएको छ । ‘पहिले परिवारका सदस्यले मात्रै भित्र्याउँथ्यौँ,’ झापा ३ का किसान लेखनाथ थापाले भने, ‘यस वर्ष वर्षा हुने भनेपछि बुधबार नै भित्र्यायौँ ।’

चाडबाडको मौसम भएकाले खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टर जस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतार–हतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उनको भनाइ छ ।

गत वर्ष यस्तै मौसमका कारण धान कुहिएर पुनः सुकाउनु परेको स्मरण गर्दै उनले यसपालि छिट्टै भित्र्याएको बताए । ‘गत वर्ष पानीले धान कुहिएको थियो,’ उनले भने, ‘यसपटक नाति–नातिनी, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्यायौँ ।’

बुधबार झापाका किसानलाई धान भित्र्याउने चटारो थियो । खेतमा धान पाकिसकेको छ । आजदेखि वर्षा हुने पूर्वानुमान सार्वजनिक भए पनि बुधबार नै जसरी पनि धान भित्र्याउने दबाबमा किसान थिए ।

Adv footer