२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

भद्रपुरमा हुने अन्तर्राष्ट्रिय हक्कीको खेल तालिका सार्वजनिक, तयारी पूरा


बिर्तामोड, कात्तिक १२ । झापाको भद्रपुरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । भारतीय टिमसहितको प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको हो ।

आयोजक भद्रपुर नगर हक्की संघका प्रशिक्षक दिपक खतिवडाका अनुसार प्रतियोगितामा भारतका तीन, नेपालका तीन विभागीय, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र आयोजक एक टिम गरी १० टिमको सहभागिता रहनेछ ।

१० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक, एपिएफ क्लब, बोङगाई स्पोर्ट एकेडेमी आसाम, भारत, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । त्यस्तै, समूह बि मा कोेशी प्रदेश, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, आरके रोय हक्की एकेडेमी भारत र वैसाली हक्की संघ भारत रहेका छन् ।

कात्तिक १३ गते उद्घाटन खेलमा समूह बि को कोशी प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ । दोस्रो खेलमा समूह ए को त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खतिवडाले बताए । प्रतियोगिता समूह चरण र नकआउटका आधारमा हुनेछ ।

यसैत्रीच, प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता हक्कीको उर्वर भूमि मानिएको भद्रपुरको पुहाँतुबारीमा हुनेछ । प्रतियोगिताका लागि पुहाँतु जनज्योति माविको खेल मैदानको स्तरोन्नति गरिएको छ । झाररहित मैदानलाई रोलर लगाएर कसिलो बनाउने काम भएको आयोजक भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका विजेता नगद २ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । पुहाँतुबारीमा यसअघि पनि राष्ट्रियस्तरको हक्की भइसकेको छ ।

फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीयस्तरमा विभिन्न समिति बनाइएको छ ।

Adv footer