
बिर्तामोड, कात्तिक १४ । झापाको चारआलीमा ख्यातिप्राप्त नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको लाइभ कन्सर्ट आयोजना हुने भएको छ । यही कात्तिक २१ गते चारआलीस्थित हातेमालो सामुदायिक वनको खेल मैदानमा कन्सर्ट हुन लागेको हो ।
चारआली जेसिज र बज्र इभेन्टको संयुक्त आयोजनामा हुन लागेको कन्सर्टलाई चारआलीको सांगीतिक पहिचान स्थापित गर्ने अवसरका रूपमा लिइएको आयोजकले जनाएको छ । चारआलीलाई संगीतसँग जोड्दै यस क्षेत्रलाई सांगीतिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । बज्र इभेन्टका सञ्चालक फुर्वा लामाले हालसम्म ४ हजार ७ सय टिकट बिक्री भइसकेको जानकारी दिए । आयोजकले कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ । भारतबाट मात्रै ५ देखि ७ सय दर्शक आउने अनुमान गरिएको लामाले बताए ।
उनका अनुसार कन्सर्टको अनुमानित लागत करिब एक करोड रुपैयाँ रहेको छ । टिकट नेपथ्य ब्यान्डले नै उपलब्ध गराएको हो । आयोजकले छुट्टै टिकट छपाइ नगरी ब्यान्डबाट प्राप्त टिकट बिक्री गरिरहेको जनाएको छ ।
चारआली जेसिजका अध्यक्ष सञ्जय निरौलाले नेपथ्यजस्तो स्थापित ब्यान्डको प्रस्तुति चारआलीमा हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए । उनले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न तयारी भइरहेको जानकारी दिए । उनका अनुसार धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट मोटरसाइकल सहभागी ¥यालीसमेत सफलतापूर्वक सम्पन्न गरिएको छ ।
चारआली जेसिजका पूर्वअध्यक्ष उत्तम प्याकुरेलले चारआलीलाई सांगीतिक पहिचान दिलाउँदै यस क्षेत्रलाई संगीतको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
नेपथ्यको लोकप्रिय सांगीतिक प्रस्तुतिले झापासहित आसपासका जिल्लाका संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने आयोजकको विश्वास छ । कन्सर्टमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले चारआलीको सांगीतिक पहिचान विस्तार गर्नुका साथै स्थानीय पर्यटन, व्यापार व्यवसाय र सांस्कृतिक गतिविधिमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।



