२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

बिर्तामोड खानेपानीद्वारा फायर हाइड्रेन्ट विस्तार, आगो नियन्त्रणमा सहज हुने


बिर्तामोड, कात्तिक १४ । झापाको बिर्तामोडको मुख्यचोकमा फायर हाइड्रेन्ट विस्तार गरिएको छ । बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आगलागीको जोखिमबाट बच्न मुक्तिचोकमा फायर हाइड्रेन्ट जडान गरिएको हो ।

आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न दमकलका लागि आवश्यक पानी उपलब्ध गराउने उद्देश्यले मुक्तिचोकमा फायर हाइड्रेन्ट जडान गरिएको संस्थाका अध्यक्ष मेघराज बास्तोलाले जानकारी दिए । आवश्यकताअनुसार नगरका अन्य स्थानमा पनि फायर हाइड्रेन्ट विस्तार गरिनेछ ।

संस्थाको २४औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बास्तोलाले बिर्तामोडमा उपभोक्तालाई चौबीसै घण्टा शुद्ध पानी उपलब्ध गराइरहेको दाबी गरे । उनले जनघनत्व बढ्दै गएकोले विस्तारका कामहरु समेत अघि बढिरहेको जानकारी दिए ।

संस्थाले उपभोक्तातर्फ बिर्तामोड–३ का ७८ वर्षीय लक्ष्मीप्रसाद ओली र बिर्तामोड–५ की ८१ वर्षीया विष्णुमाया गुरुङलाई ज्येष्ठ उपभोक्ता सम्मान गरेको छ । लामो समयदेखि संस्थामा कार्यरत नरप्रसाद कट्टेललाई पनि सम्मान गरिएको संस्थाका व्यवस्थापक खड्गराज गिरीले जानकारी दिए ।

बास्तोलाका अनुसार संस्थाका पाँचवटा स्किमअन्तर्गत सञ्चालित १४ वटा समर्सिबल पम्पबाट दैनिक दुई करोड २५ लाख लिटर पानी उत्पादन हुँदै आएको छ । विगतमा बिछ्याइएका साना आकारका पाइपलाई प्रतिस्थापन गर्दै ठुला पाइप बिछ्याउने काम भइरहेको छ । अव्यवस्थित जग्गा प्लटिङ तथा बाटो निर्माणका क्रममा खानेपानीका पाइपलाइनमा अत्यधिक क्षति पुग्ने गरेको समस्या हुँदै आएको प्रतिवेदनमा छ ।

यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आय नौ करोड ६० लाख ५९ हजार ६१५ रुपैयाँ १० पैसा रहेको छ । सोही अवधिमा कुल आठ करोड १९ लाख १८ हजार ५६ रुपैयाँ एक पैसा खर्च भएको छ ।

कार्यक्रममा खानेपानी कार्यालय भद्रपुरका प्रमुख सुमन भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित संस्थाका सल्लाहकार लोकबन्दु कन्दङवा, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का, बिर्तामोड आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र संग्रौलाले स्वागत मन्तव्य राखेका थिए भने सचिव पारसमणि मैनालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Adv footer