२०८३ कात्तिक २४ सोमबार
Jhapa Today
Adv top

अन्तर्राष्ट्रिय हक्कीको उपाधि आयोजक भद्रपुरलाई


बिर्तामोड, कात्तिक १६ । प्रथम अन्तर्राष्ट्रिय फाइभ एस हक्की प्रतियोगिताको उपाधि आयोजक भद्रपुर नगर हक्की संघले जितेको छ । उपाधिसँगै उसले नगद दुई लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

झापाको भद्रपुर–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा आयोजक भद्रपुर नगर हक्की संघले भारतको आरके रोय हक्की एकेडेमीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपविजेता भारतको आरके रोय हक्की एकेडेमीले १ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । भारतको वैशाली हक्की टिमले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उसले नगद ५० हजार रुपैयाँ र ट्रफी पायो ।

यसैबीच, उच्च गोलकर्ता विजेता टोली भद्रपुरका सुदीप चौधरी भए । उनले प्रतियोगितामा सर्वाधिक १० गोल गरेका थिए । उत्कृष्ट गोलकिप्पर भद्रपुरकै विष्णु घिमिरे भए भने उत्कृष्ट डिफेन्डर उपविजेता आरके रोयका मोहम्मद सिद्धिकी भए ।

उदीयमान खेलाडीको उपाधि भद्रपुरकै आर्यन राजवंशीले हात पारे । उनीहरुले नगद ५ हजार प्राप्त गरे । फेयर प्ले टिमको पुरस्कार गण्डकीको टिमले जित्यो । उसले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्यो ।

विजेता तथा उपविजेता टोलीलाई भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।

भारतीय टिमसहितको प्रतियोगिता नेपालमै पहिलोपटक भद्रपुरमा आयोजना भएको हो । सो स्थानमा यसअघि राष्ट्रियस्तरको प्रतियोगिता भइसकेको छ ।

आयोजक भद्रपुर नगर हक्की संघका प्रशिक्षक दिपक खतिवडाका अनुसार प्रतियोगितामा भारतका तीन, नेपालका तीन विभागीय, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र आयोजक एक टिम गरी १० टिमको सहभागिता रहेको थियो ।

Adv footer